
खाँदबारी – संखुवासभाको खाँदबारीमा आज देखि ‘तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता’ सुरु हुँदै छ । तीनपोखरी समाज विकास क्लब खाँदबारीमा आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
माघे सङ्क्रान्तिको अवसरमा खेलकुद, संस्कृति र पर्यटन, समृद्ध समाज हाम्रो अभियान नारासहित ‘तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता’ गर्न लागिएको आयोजकले जनाएको छ । नवीन खेलाडीलाई पूर्ण व्यावसायीकरण र युवा खेलाडीलाई रोजगारीमुखी बनाउन स्थानीय धर्म, संस्कृति, भेषभूषा संरक्षण उद्देश्यसहित प्रतियोगिता सञ्चालन हुने भएको हो ।

कोशी प्रदेशका विभिन्न जिल्लाका ८ क्लबको सहभागीता रहेको प्रतियोगिता प्रतियोगितामा सशस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युवा क्लब उदयपुर, बुढाचुली स्पोर्टिङ क्लब दमकसहित कोशी प्रदेशका ८ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताका विजयी टिमलाई नगद २ लाख ५१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद १ लाख २५ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्रले सम्मान गरिने छ । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफी, मेडल, प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा करिब २० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
