तेह्रथुममा कक्फेवा तङ्नाम अवसरमा खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने

तेह्रथुम — कक्फेवा तङ्नामको अवसरमा तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङमा खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ। प्रतियोगिता गौखुरी युवा क्लबको आयोजनामा सञ्चालन हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत पुरुष र महिला दुवै तर्फका खेलहरू समावेश गरिनेछ। पुरुष फुटबलतर्फ प्रथम हुने टिमले नगद रु. १,२१,१२१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले रु. ६१,१६१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै विभिन्न विधागत पुरस्कारहरूको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ। पुरुष टिमका लागि इन्ट्री शुल्क रु. ५,१०० निर्धारण गरिएको छ।

त्यसैगरी महिला फुटबलतर्फ प्रथम पुरस्कार रु. ५१,१५१ र दोस्रो पुरस्कार रु. ३१,१३१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। महिला फुटबल प्रतियोगितामा सहभागी हुन कुनै इन्ट्री शुल्क लाग्ने छैन। यद्यपि ४ टिमभन्दा कम दर्ता भएमा प्रतियोगिता सञ्चालन नहुने आयोजकले स्पष्ट पारेको छ।

महिला टिमहरूलाई प्रोत्साहन स्वरूप जिल्लाभित्रका टिमलाई रु. ५,००० र जिल्ला बाहिरका टिमलाई रु. १०,००० फेयर सुविधा उपलब्ध गराइने पनि जानकारी दिइएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले २०८२ साल ९ महिना २८ गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। खेलहरू २०८२ साल १० महिना २ गतेदेखि सुरु हुनेछन्। साथै कक्फेवा तङ्नामकै अवसरमा २०८२ माघ १ गते गौखुरी धाम दर्शन कार्यक्रमसमेत आयोजना गरिनेछ।

स्थानीय स्तरमा खेलकुदको विकास, युवा सहभागिता र सांस्कृतिक पर्वको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गौखुरी युवा क्लबले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *